२१ कात्तिक, काठमाडौं । पूर्व सूचना तथा संस्कृति राज्य मन्त्री राधाप्रसाद घिमिरेले स्थापना गर्नुभएको पुरानो हाते प्रेस मंगलबार विराटनगरमा उनको परिवारले त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई हस्तान्तरण गरेको छ । पूर्व राज्यमन्त्रीकी कान्छी बुहारी दुर्गा घिमिरेले विभागका प्रमुख डा कुन्दन अर्याललाई सो हाते प्रेस हस्तान्तरण गरिन्।
हस्तान्तरण कार्यक्रममा बुद्धिजिवी, प्राध्यापक, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो । कार्यक्रममा प्रा.डा. कृष्ण पोखरेल, पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. विजुकुमार थपलिया, मानवअधिकार आयोगका संस्थापक सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, महेन्द्र मोरंग बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक क्याम्पस प्रमुख डा. डिल्ली पोखरेल, त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक डा. घमराज लुइँटेल, नागरिक अगुवा दिनेश श्रेष्ठ, पत्रकारहरु यज्ञ शर्मा, मोहन भण्डारी, मोहन मानन्धर, महेन्द्र विष्ट, मोरङ्ग उद्योग संघका पूर्व अध्यक्ष सुयश प्याकुरेल, रासस प्रतिनिधि मनोज दहाल, इन्सेकका कार्यकारी निर्देशक विजय गौतम, कोशी कार्यालयका सोमराज थापा, मनोहर पोखरेल उपस्थित थिए ।
प्रेस हस्तान्तरण कार्यक्रममा डा. अर्यालले विभागलाई शैक्षिक प्रयोजनका लागि उदारतापूर्वक हाते प्रेस प्रदान गरेकोमा स्व. राधाप्रसाद घिमिरे र उनको परिवारप्रति कृतज्ञता ज्ञापन गरे । उनले कृतज्ञतापत्र बुहारी दुर्गा घिमिरेलाई हस्तान्तरण गरे।
सो कार्यक्रममा प्रा. कृष्ण पोखरेल, मानवअधिकार आयोगका संस्थापक सुशील प्याकुरेल, समाजसेवी दिनेश श्रेष्ठ एवं वरिष्ठ पत्रकार कनकमणि दीक्षित, पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति विजुप्रसाद थपलिया, महेन्द्र मोरंग बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामावतार शरण तथा पत्रकारहरू मोहन भण्डारी र यज्ञ शर्माले स्व. राधाप्रसाद घिमिरेको योगदानको चर्चा गर्दै पुरानो प्रविधिको प्रेस पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा राखिनु स्वागतयोग्य कार्य भएको टिप्पणी गरे ।
सन् १८८३ मा लण्डन–वेलायतमा बनेको यो हाते प्रेस गुटेनवर्गले १४४० ताका आविष्कार गरेको प्रेससँग मिल्दोजुल्दो रहेको छ । पूर्व राज्यमन्त्री घिमिरेले वि.सं.२०१५ सालको आमचुनावताका प्रचार सामग्री खासगरी पोष्टर छाप्ने प्रयोजनका लागि भारतको कलकत्ताबाट विराटनगरमा ल्याई स्थापना गरेका थिए ।
पायोनियर प्रेसका नामबाट सञ्चालनमा आएको यो छापाखाना विराटनगरका पुराना छापाखानामध्येको एक थियो । तिहारको भाईटीकामा टिका लगाउन बिराटनगर गएको समयमा विभागका प्रमुख डा अर्याल र उपप्राध्यापक डा लुईटेलले उक्त कार्यक्रमको संयोजन गरेका हुन् । उक्त प्रेश ल्याएपछि अब त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषय पढ्ने विद्यार्थीहरूले पुरानो छपाइ प्रविधिबारे प्रत्यक्ष अवलोकन गर्न सक्ने दाबी डा. अर्यालले गरेका छन् ।