२६ कात्तिक, बाँके । नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै एक करोड बढी सङ्कलन भएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगञ्जमा यही कात्तिक २२ गतेदेखि महोत्सव सुरु भएको हो । महोत्सवमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन् ।
महायज्ञ सुरु भएको चार दिनमा एक करोड बढी नगद तथा जिन्सी सङ्कलन भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनले दाताहरुले नगद, चेक तथा जिन्सी दान गरिरहको बताए ।
सिधनियाघाटमा दाहसंस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका संयोजक डा सुरेशकुमार कनोडियाले जानकारी दिए ।
बाँके तथा यस क्षेत्र आसपासका नागरिकको निधनपछि दाहसंस्कार गर्ने स्थल डुडुवा गाउँपालिका–५ मा पर्ने राप्ती नदीस्थित सिधनियाघाटमा मलामी तथा किरियापुत्रीहरुले भोग्नुपरेको समस्या र दुःखलाई दृष्टिगत गर्दै परिकल्पना गरिएको सुविधायुक्त वैकुण्ठधाम योजनालाई सार्थक बनाउन महोत्सव आयोजना गरिएको उनले बताए ।