सूचना प्रविधि

नेपाल टेलिकमले एनपीएललाई मध्यनजर गर्दै NT Cricket Dhamaka Pack सार्वजनिक

१४ मङ्सिर, काठमाडौँ । २०८१ मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग एनपीएललाई मध्यनजर गर्दै सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ नेपाल टेलिकमले NT Cricket Dhamaka Pack सार्वजनिक गरेको छ।

मिति २०८१/र०८/१३ गते लाजिम्पाटस्थित होटल ¥याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरे।

यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६९९ मा ३०० जीबी डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। यसैगरी ४९९ मा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।

आज २०८१ मङ्सिर १४ देखि आगामी पौष ६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताए ।

यसका साथै नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि Media Centre लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल क्यानको अनुरोधमा FTTH सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान निस्शूल्क जडान कार्य समेत सम्पन्न गरिसकिएको छ ।