१४ मङ्सिर, कास्की । खानेपानीमन्त्री प्रदीप यादवले पचासौँ वर्षको प्रतीक्षापछि पोखरेली जनताले सहजरूपमा शुद्ध खानेपानी प्राप्त गर्न सफल भएको दाबी गरेको छन् । पोखरा महानगरपालिकाको खानेपानी सुधार आयोजना आज पोखरा–१९ पुरनचौरमा उद्घाटन गर्दै मन्त्री यादवले सहज तवरले खानेपानी प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपरेको बताए ।
नेपाल–जापान सहयोगअन्तर्गत मित्रराष्ट्र जापान सरकारको चार अर्ब अनुदान सहयोगमा सो आयोजनाको संरचना निर्माण सम्पन्न भएको हो ।
“मेलम्चीपछिको उक्त ठूलो खानेपानी आयोजना सम्पन्नसँगै अब पोखराली उपभोक्ताको धाराबाट धमिलो पानी आउने छैन”, मन्त्री यादवले भने, “गुणस्तरीय मापदण्डअनुसार पोखरेली जनताले खानेपानी प्राप्त गर्ने छन् ।” आफू खानेपानीमन्त्री भएसँगै अधुरा योजनालाई छिटो सम्पन्न गर्ने कार्यलाई तीब्रता दिएको उल्लेख गर्दै उनले आगामी दिनमा खानेपानी संस्थानमा देखिएका समस्या र कर्मचारी व्यवस्थापनामा आफ्नो ध्यान केन्द्रित गर्ने बताए ।
‘माछापुच्छ्रे गाउँपालिकामा मुहान रहेको मर्दी खोलाको पानीलाई पोखरा–१९को पुरन्चौर र हेम्जाका पोखरीमा फिल्ट्रेसन गरी पोखरा–२ विन्ध्यवासिनीस्थित ट्याङ्कीमा जम्मा गरी पोखरामा पानी वितरण हुनेछ । बीस इञ्चको पाइपबाट दैनिक चार करोड १० लाख लिटर पानी ट्याङ्कीमा जम्मा गरी पोखराका १९ वटा वडाका ५० हजार धारमा पानी वितरण गरिने छ । उक्त खानेपानी आयोजनाबाट पोखराका साढे तीन लाख जनता लाभान्वित हुनेछन् ।
सङ्घीय सांसद दामोदर पौडेलले संरचना निर्माणसँगै संरक्षण र व्यवस्थापनामा सरकार र खानेपानी संस्थानले ध्यान दिन जरूरी भएको बताए । साथै उनले आयोजना निर्माण भए पनि पोखरामा खानेपानीको अभाव अझै रहने बताए । पानीको मुहान भएको क्षेत्र माछापुच्छ्रे गाउँपालिका र पुरन्चौर क्षेत्रमा बसोबास गर्ने जनताका लागि विकास निर्माणका काम अगाडि बढाउन उनले जोड दिए ।
गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरूङले खानेपानीको मुहान नजिकै बस्ती र मृत्यु भएका मानिस जलाउने ठाउँ भएकाले त्यसलाई व्यवस्थित गर्दै खोलाको संरक्षण गर्न जरूरी भएको बताए । पोखरालाई पानी दिएर सहयोग गर्ने माछापुच्छ्रे गाउँपालिकावासीको हितमा विकास निर्माणका कार्य अगाडि बढाउन खानेपानी मन्त्रालय र पोखरा महानगरपालिकाको ध्यान जान आवश्यक भएको उनको भनाइ छ ।