१५ मङ्सिर, लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ ।
एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामका बारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका थिए। एमाले–कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँचवर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको उनले जानकारी गराएका थिए ।
यस्तै, बैठकमा संसदीय क्षेत्रमा भएका कामका बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारेका थिए । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।
प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै, मङ्सिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।
एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज अर्याल, मुख्यमन्त्री आचार्य र प्रदेश अध्यक्ष कँडेल रहेका छन् । यस्तै, कांग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल रहेका छन् ।