१५ मङ्सिर, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा दुई करोड ८० लाख लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ ।
सहरी विकास मन्त्रालयले दुई करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको छ । रामग्राम नगरपालिकालाई बसपार्क दुई वर्ष पहिला नै हस्तान्तरण गरेको पनि अहिलेसम्म सञ्चालनमा नआउँदा यहाँका समस्या भइरहेको सहरी विकास मन्त्रालयका इन्जिनियर वीरेन्द्र मण्डलले बताए ।
उनका अनुसार निर्माणाधीन बसपार्कमा सानाठूला ६० सवारीसाधन राख्न सकिने छ । बसपार्क जाने सडक साँघुरो भएकाले उपयोगविहीन भएको छ । समिर कन्स्ट्रक्सन कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेर २०७९ असारमा रामग्राम नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
पाल्ही मध्यनेपाल यातायात बस व्यवसायीका अध्यक्ष ऋषिराम पौडेलका अनुसार निर्माणाधीन नयाँ बसपार्क जाने सडक साँघुरो भएकाले बस आउनजान नमिल्ने भएपछि आफूहरूले जग्गा भाडामा लिएर महेशपुर–परासी सडकखण्डको छेउमा सवारीसाधन राख्ने गरिरहेको छ । रामग्राम नगरपालिकाले निर्माणाधीन बसपार्क आफूहरूलार्ई हस्तान्तरण नगरेकाले सवारी राख्न समस्या भइरहेको छ ।
सहरी विकासले स्थानीय तहलाई हस्तान्तरण नगरेको तथा बसपार्क जाने सडक साँघुरो रहेकाले अहिलेसम्म बसपार्क सञ्चालनमा नल्याएको रामग्राम नगरपालिका–४ का वडाध्यक्ष मदन यादवले बताए ।