१८ मङ्सिर, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।
नेपाली कांग्रेस मोरङका १७ पालिका कार्य समितिद्वारा आज विराटनगरमा आयोजित पार्टीका कोशी प्रदेशस्तरीय पालिका सभापतिको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले कांग्रेस र एमालेबीच मुलुकमा पारदर्शी, सुशासन, संविधान संसोधन र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको स्पष्ट पारे ।
नेता डा कोइरालाले भने, “वर्तमान सरकारलाई असफल हुने छुट छैन । यो सरकारप्रति जनताको ठूलो आशा एवं विश्वास छ ।” उनले पार्टीभित्र कुनै गुट उपगुट नभनी पार्टीलाई सही गन्तव्यमा पु¥याउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
नेता डा कोइरालाले पालिका सभापतिहरुलाई अधिकार दिएर सङ्गठन बलियो बनाउने कार्यमा आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले वडादेखि केन्द्रसम्म पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक बहस र छलफल गर्नुपर्ने सुझाव दिए । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गरे ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी सङ्गठनलाई बलियो बनाउन आवश्यक भएको चर्चा गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला र डा चन्द्रमोहन यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी सङ्गठनलाई बलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा केन्द्रीय सदस्यहरु- मिनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजिव कोइराला, चन्द्रमोहन यादव र रुक्मिणी कोइराला,
कोशी प्रदेश महामन्त्री उमेश थापा, पुर्व केन्द्रीय सदस्यहरु- गुरु घिमिरे, रामकृष्ण भट्टराई र हसन अन्सारी, जिल्ला सभापतिहरु- डिगबहादुर लिम्बू-मोरङ, केदार भण्डारी-सुनसरी, बिनोद बान्तवा-भोजपुर, रुपनारायण जबेगु-पाँचथर, संघीय सांसद सुनिल शर्मा, कोशी प्रदेश पुर्व मुख्यमन्त्री केदार कार्की, पुर्व जिल्ला सभापतिहरु-नरेन्द्र केरुङ्-पाँचथर, गोविन्द ढुङ्गाना-तेह्रथुम, बालकृष्ण थापा-भोजपुर, गोमा केसी-ओखलढुंगा, महानगरपालिका सभापतीहरु- निलकाजी शाक्य-काठमाडौ, सुरेन्द्रमान बिजुक्छे-पोखरा, सुवानन्द धाख्वा-ललितपुर, मणिन्द्रराज नेपाली-बिरगंज र दिपक चापागाईं-बिराटनगर लगायत प्रदेशका एक सय १३ पालिकाका सभापतिको सहभागिता रहेको छ ।