२१ मङ्सिर, सियोल । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उनलाई पदबाट हटाउनु उचित भएको बताएका छन्।
युनको पिपुल्स पावर पार्टीका प्रमुख हान दोङ–हुनको आश्चर्यजनक टिप्पणीले शनिबार राष्ट्रपतिलाई महाभियोग लगाउन पर्याप्त सांसदहरूले मतदान गर्ने लगभग सुनिश्चितता गरेको छ ।
हानले बिहीबार महाभियोगलाई रोक्ने बताएको थियो । पार्टीका अर्का एक नेताले भने शनिबारको मतदानमा युनलाई समर्थन गर्न पीपीपीका सबै १०८ सदस्य एकजुट हुने बताएका छन् ।
युनले मङ्गलबार राति सैनिक शासन मार्शल लको घोषणा गरेर केही गलत गरेको स्वीकार गर्न इन्कार गर्नुभएका कारण शुक्रबार आफ्नो अडान परिवर्तन भएको हानले बताए ।
हानले भने, “नयाँ तथ्यलाई ध्यानमा राख्दै गणतन्त्र कोरिया र त्यहाँका जनताको रक्षाका लागि राष्ट्रपति युन सुक योल जिम्मेवारीबाट शीघ्र निलम्बन हुन आवश्यक छ ।”
हानले भन्नुभयो, “युनले ‘गैरकानुनी रूपमा हस्तक्षेप गर्ने’ सैन्य अधिकारीविरुद्ध कुनै कारबाही गरेको छैन र उनले यो कदम गलत थियो भनेर स्वीकार गर्न अझै आनाकानी गरिरहेको छ । त्यसैले, यदि राष्ट्रपति यूनले राष्ट्रपतिको पद धारण गरिरहे भने दक्षिण कोरिया र यहाँका जनताका लागि गम्भीर जोखिम छ । वर्तमान सङ्कटकालीन अवस्था जस्तै चरम कार्यहरू दोहोरिन सक्छ ।”
युनले मङ्गलबार अबेरसम्म नागरिक शासनलाई निलम्बित गर्दै संसदमा सेना तैनाथ गरेको थियो । विपक्षीहरूको विरोधका कारण केही घण्टामा नै उनले आफ्नो निर्णय परिवर्तन गर्न बाध्य हुनुपरेको थियो ।
दक्षिण कोरियाको ३०० सदस्यीय विधायिकामा विपक्षीको बहुमत छ र महाभियोगका लागि आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न पीपीपीबाट केही सांसदले दलबदल गर्नु आवश्यक छ ।
रियलमिटरले बिहीबार सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार राजधानीका ७३।६ प्रतिशत उत्तरदाताले महाभियोगको समर्थन गरेका छन् ।
राष्ट्रपतिको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारीले बिहीबार साँझ मध्य सियोल र संसद भवन नजिकै प्रदर्शन जारी राखेका छन् ।
महाभियोग प्रस्ताव पारित भएमा संवैधानिक अदालतको फैसला नआउन्जेलसम्म युनलाई निलम्बन गरिनेछ । यदि न्यायाधीशहरूले सहमति दिएमा युनलाई महाभियोग लगाइनेछ र ६० दिनभित्र नयाँ निर्वाचन हुनुपर्नेछ।





