२१ मङ्सिर, सुदूरपश्चिम । कैलालीको धनगढीमा विसं २०६३ सालदेखि निरन्तर सुदूरपश्चिम महोत्सव हुँदै आएको छ । सुदूपश्चिममा महोत्सव संस्कृतिको खासै विकास नभएको अवस्थामा सुरु भएको यो महोत्सव यहाँका लागि एक उत्सवकै रूपमा दिने गरिन्थ्यो । त्योभन्दा महत्वपूर्ण महोत्सवको शैली थियो, जहाँ सुदूरपश्चिमको विकासका लागि प्रमुख अतिथिलाई २१बुँदे मागसहित दबाबस्वरुप २१ किलोको माला लगाइन्थ्यो । यसरी दबाद दिन थालेको पनि दुई दशक पुग्नै लागको छ तर महोत्सवको प्रारम्भमा राखिएका अधिकांश माग अझै पूरा भएका छैनन् ।
कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा विकासका पूर्वाधार र अत्यावश्यक सेवा सुविधाको व्यवस्थापन गर्न महोत्सवमार्फत मुख्य अतिथिलाई दबाब दिन यस्तो शालीन आन्दोलन थालिएको आयोजकको भनाइ छ । कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओमबहादुर विष्ट राजनीतिक अस्थिरताका साथै कर्मचारी र राजनीतिक क्षेत्रका नेतृत्वलाई सहमत गराउन नसक्दा माग पूरा हुन नसकेको बताउछन् । उनी भन्छन्,“शालीन आन्दोलन गरिए पनि राजनीतिक र कर्मचारीतन्त्रको नेतृत्व गम्भीर नहुँदा हाम्रा माग अझै पूरा हुन सकेका छैनन् ।”
तत्कालीन समयमा राखिएका मागमध्ये छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना तथा रङ्गशाला निर्माण, आइसियु सघन उपचार कक्ष सञ्चालन, दुग्ध प्रशोधन केन्द्र स्थापना र अप्टिकल फाइबर बिछ्याउनुपर्ने माग पूरा भएका छन् । खुटिया–दिपायल ‘फास्ट ट्रयाक’ हाल निर्माणको चरणमा छ । अप्टिकल फाइबर बिछ्याउने काम व्यवसायीको मागभन्दा पनि नेपाल टेलिकमको आफ्नो नियमित कार्यक्रमअनुसार भएको व्यापारीको बुझाइ छ ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रदेशमा सभासम्मेलन गर्न आधुनिक सभागृह, दोधाराचाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र स्थापना, गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्नुपर्नेलगायत माग आंशिक रूपमा सुनुवाइ भएका महासचिब विष्ट बताउछन् ।
धनगढी नजिकको गौरीफन्टा सीमानाकाको स्तरोन्नति, प्रदर्शनीस्थल निर्माण, उद्योग स्थापनाका लागि प्रोत्साहनस्वरुप दश वर्षसम्म ‘ट्याक्स फ्रि जोन’करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने, भौतिक संरचना पूरा भइसकेको गेटामा मेडिकल विश्वविद्यालय यथाशीघ्र सञ्चालन गर्नुपर्नेजस्ता माग पूरा हुनसकेका छैनन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशलाई चीनसँग जोड्ने नाका खुलाउनुपर्ने, पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण शीघ्र कार्यान्वयन गर्नुपर्ने, कृषि विश्वविद्यालय, प्रदेश सांस्कृतिक सङ्ग्रहालय स्थापना, सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने, सूचना प्रविधि क्षेत्रको विकासलगायत विकासमा ठूलो महत्व राख्ने माग अझै पूरा हुन नसकेका व्यापारीहरूको गुनासो छ ।
कृषि, उद्योग, व्यापार पर्यटनलगायतको प्रवर्द्धन गरी आर्थिक समृद्धिमा टेवा पु¥याउन विसं २०६३ देखि सुदूरपश्चिम महोत्सव थालनी गरिएको थियो । देशका अन्य क्षेत्रको तुलनामा पछि परेको यस प्रदेशको समग्र विकासका लागि चाहिने पूर्वाधार विकासका लागि दबाब दिन यस्तो शालीन आन्दोलन गर्नु परेको स्थानीय व्यापारी डिल्लीराज अवस्थीको भनाइ छ । “महोत्सवबाट कृषि, र स्थानीय लोकसंस्कृतिलगायत क्षेत्रमा केही जागरण फैलाउन मद्दत पुगे पनि सबै माग पूरा नहुँदा हाम्रो उद्देश्य पूरा हुन सकेको छैन”, उनले भने । पछिल्लो समय देशमा सङ्घीयता कार्यान्वन गर्न स्थापित तीन तहका सरकारको भूमिकाअनुसार सङ्घीय सरकारबाट पूरा हुनसक्ने माग समेटेर पेस गर्ने गरिएको छ ।
कम्तीमा पनि धनगढी विमानस्थलको स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, चीन र भारत जोड्ने उत्तर दक्षिण ‘कनेक्टिभिटी‘को व्यवस्था, औद्योगिक क्षेत्र स्थापना र सुख्खा बन्दरगाह निर्माणसम्म हुन सकेमा प्रदेशको विकासमा सकारात्मक प्रभाव पर्ने व्यवसायीको भनाइ छ ।
यस वर्षको सुदूरपश्चिम महोत्सव शनिबारदेखि सुरु हुँदैछ । यसका लागि धनगढी उपमहानगरपालिका–१ मा रहेको मैदानलाई झकिझकाउ बनाइएको छ । ‘सुदूरपश्चिम महोत्सव २०८१’का मुख्य अतिथिलाई सातबुँदे मागसहित सात किलोको माला पहि¥याउने तयारी गरिएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले बताए । “यो महोत्सव केवल महोत्सव मात्रै होइन, सुदूपश्चिम प्रदेशका व्यापारी व्यवसायीको सालिन ओन्दोलन पनि हो । हामीले निरन्तर रूपमा यसको आयोजना गर्दै आएका छौँ । स्थानीय उत्पादन, कला, संस्कृति र सम्भावनाहरूको उजागर गर्नुका साथै यस प्रदेशको विकासका लागि दीर्घकालीन रूपमा असर पर्ने खालका मागहरूबारे राज्य सञ्चालकहरूको ध्यानाकर्षण गर्ने हाम्रो मूलध्येय हो । सोहीअनुसार यसपटक पनि महोत्सव आयोजना गर्दैछौँ”, उनले भने ।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ बर्सेनि आयोजना गरिने महोत्सवमा कृषिउपज प्रदर्शनी, हस्तकला, जडीबुटी, स्थानीय समुदायका खानाका परिकार, सांस्कृतिक कार्यक्रम, बाल उद्यानलगायत स्टल राख्ने गरिएको छ ।