कृषि

कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने

९ पुस, गण्डकी । भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका लागि राम्रो आम्दानीको श्रोत बनेको छ । पोखरा महानगरपालिका वडा नं ३१ स्याङखुदीस्थित खनास्वाराका कृषक टुकाराम लामिछानेले कागती बिक्रीबाट मनाग्गे आम्दानी गर्दै आएको छन् ।

जङ्गलमा परिणत भएको करिब २६ रोपनी जग्गामा छ वर्षअघि आफूले लगाएको ‘सोना’ पाँच सय र ‘लेमन–ठूलो’ जातका दुई सय गरी कूल सात सय कागतीका बिरूवा ठूला भई वार्षिक १० लाख रूपैँया आम्दानी हुनथालेकामा कृषक लामिछाने दङ्ग छन् ।

कागती बिक्रीबाट यस वर्ष रू २० लाख आम्दानी हुने अपेक्षा गरेकामा गत चैत वर्षको १२ गते परेको असिनाका कारण क्षति पुग्दा ६० क्विन्टल उत्पादन हुने अनुमान गरेकोमा ३० क्विन्टल मात्र कागती उत्पादन हुँदा सोचेअनुसार पैसा हात पार्न नसकिएको उनले बताए ।

“उत्पादन भएको कागती बिक्री हुँदै न कि भन्नु पर्दैन,” उनले भने, “कागतीको बोटमा बाह्रै महिना फल लाग्ने रहेछ, बजारमा अहिले प्रतिकेजी दुई सयदेखि दुईसय पचास रूपैँया सम्ममा बिक्री हुने गरेको छ, बाँझिएको जग्गामा कागती लगाएर राम्रै आम्दानी गर्न सफल भएको छु । हावापानी सुहाँउदो जग्गामा कागती लगाइ लाभान्वित हुन सबैसँग अनुरोध गर्दछु ।”

नेपाल सरकारको जागिर छोडेर सुरू गरेको व्यावसायीक कागती खेतीले राम्रो आम्दानी दिन थालेपछि बिहानदेखि साँझसम्म कागतीका बोटको स्याहारसुसार गर्नु दैनिकी बनेको बताउँदै ६३ वर्षीय कृषक लामिछानेले थपे, “यतिखेरको बेमौसममा पनि दिनमा पचास किलो कागती उत्पादन हुने गरेको छ ।”

बाँदरलगायत बन्यजन्तु र चराचुरूङ्गीले समेत नोक्सान नगर्ने, रोक कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नु नपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उनको भनाइ छ ।

विसं २०७५ साउन महिनामा धरानस्थित पाख्रीबासबाट दुई सय रूपैँयाका दरले खरिद गरेर ल्याएका बिरूवा साउन महिनामा रोपेको जानकारी दिँदै उनले भने, “चार वर्षमा उत्पादन दिन सुरू गरेका थिए, पहिलो वर्ष आठ लाख रूपैँया आम्दानी भयो र उत्पादनसहित आम्पादनी बढ्नेक्रम जारी छ ।”

चार मिटर फरक र एक मिटर गहिराइका खाल्टामा बिरूवा रोपेर सुरू गरेको कागती खेती गर्दा हालसम्म ८० लाख रूपैँया खर्च भएको उनले जानकारी दिए । कागती रासिलो भएका कारण बजारको माग पनि राम्रो छ । ज्ञान केन्द्र स्याङबाट ल्याई रोपिएका उन्नत जातका लेमनका दुई सय बिरूवामा अहिले कागती लटरम्म फलेका छन् ।

कृषक लामिछानेले भने, “रूखबाट झरेका फल पेलेर अघिल्लो साल ४८ माना अमिलो उत्पादन भएको थियो, कालो बाक्लो अमिलो प्रतिमाना रू एक हजार र पातलो झोल रू पाँच सयमा बिक्री गर्दै आछु, यस वर्ष पनि ३० माना जति अमिलो उत्पादन भइसकेको छ, झरेका कागतीबाट समेत आम्दानी गर्न सकिने रहेछ ।

बिरूवा रोपेको चार वर्षमै फल दिन सुरू गरेको कागतीको एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन भएको बताउँदै उनले बताए । “अहिलेसम्म सम्बन्धित क्षेत्रका सरकारवाला पक्षबाट कुनै पनि किसिमको सर–सहयोग प्राप्त भएको छैन,” उनले भने “यतिखेर कागती बगैँचाको काँटछाट, गोडमेलको काम भइरहेको छ । दैनिक पाँच जनालाई ज्यालादारीमा काम लगाउँदै आएको छु । काम गर्ने कृषकलाई प्राविधिकसहित अन्य सहयोग उपलब्ध हुन्छ भन्ने सुनेको छु, खै कसले पाउँछन् थाहा छैन ।”

पछिल्लो समय तातोपानी, चिया र खानामा कागती अत्यधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरू गरेको दावी गर्ने लामिछानेले भने, “राज्यका तर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत फलफूल तथा तरकारीमा देश आत्मनिर्भर बन्न सक्छ ।”