सूचना प्रविधि

‘अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताका आधारमा पिएसबीलाई अगाडि बढाउनुपर्छ’

१६ पुस, काठमाडौँ । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण पिएसबी नेपालमा रूपान्तरण भएपछि यी दुवै माध्यमबाट प्रसारण हुने समाचार र कार्यक्रमका विषयवस्तु अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्कतामा आधारित हुनुपर्नेमा जोड दिइएको छ ।

सार्वजनिक सेवा प्रसारणमा कार्यक्रमका विषयवस्तु चयन, कार्यक्रम उत्पादकको जिम्मेवारी एवं जवाफदेहिता विषयमा आज सिंहदरबारमा आयोजित अभिमुखीकरणका वक्ताहरूले सार्वजनिक सेवा प्रसारणका लागि आवश्यक विषयवस्तु नागरिक केन्द्रित कसरी बनाइनुपर्नेमा उनीहरूको भनाइ छ ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर पूर्ण पिएसबी बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले, मुलुकको सांस्कृतिक, सामाजिक र भौगोलिक विविधतामा आधारित भएर नागरिकले बुझ्ने खालका विषयवस्तु उत्पादन गर्ने र जनताका समस्या उजागर गरी नीति निर्मातासम्म पुर्‍याएर समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने र सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्यअनुसार प्रसारण सामग्रीलाई प्राथमिकतामा राखदै यसको प्रसारण जनता केन्द्रित बनाउन प्रसारणमा संलग्न सबै जनशक्तिलाई एकीकृत भएर आग्रह गरे ।

सार्वजनिक सेवा प्रसारणका लागि आवश्यक पर्ने विषयवस्तुको छनोट, शैली, उत्पादन र प्रसारणसम्बन्धी अभिमुखीकरण सञ्चालन गरिन थालिएको हो । यसअघि गत शुक्रबार समाचारका विषयवस्तु, जिम्मेवारी र जवाफदेहिताका विषयमा अभिमुखी कार्यक्रमको आयोजना गरियो ।

ती दुवै अभिमुखी कार्यक्रममा सञ्चार विज्ञ रघु मैनालीले सार्वजनिक सेवा प्रसारणका विषयवस्तु नागरिक केन्द्रित कसरी बनाउने भन्ने सम्बन्धमा प्रशिक्षण दिएको छन् । अभिमुखीकरण कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यक्रम उत्पादन र प्रसारणसँग सम्बन्धित प्रसारकहरू सहभागी थिए ।