१७ पुस, काठमाडौँ । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ ।
सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने र विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल बाजुरा लाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।
“आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँमा सरूवा गर्ने निर्णय भएको छ”, सरकारका प्रवक्ता गुरूङले भने ।





