समाचार

धरौटी बुझाएपछि रवि लामिछाने र छविलाल जोशी रिहा हुने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

२५ पुस, काठमाडौँ । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका पूर्व एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

धरौटी बुझाएपछि रवि लामिछाने र छविलाल जोशी रिहा हुने भएका छन् । उनीहरुविरुद्ध रुपन्देही, पर्सा, चितवन र काठमाडौंमा पनि सहकारी ठगी मुद्दा छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि रवि, छवि दुवैलाई प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरुलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । धरौटीमा रिहा भएपछि उनीहरु काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने स्रोतले जनाएको छ ।