६ माघ, काठमाडौं । रास्वपालले कारबाही गरेका मुकुल ढकालले कुनै पनि बहाना नबनाइ जनताको काममा हामी फर्कनै पर्छ भनेका छन् ।
उनले सामाजिक संजालमा लेख्दै, ‘‘अहिले इगोमा बसेर केही हुँदैन । देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु । के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस् ।’’
उनले भनेका छन्, ‘प्रिय रास्वपा सदस्यहरू,
पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभाष भइरहेको छ । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाइ जनताको काममा हामी फर्कनै पर्छ ।
म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु—आ–आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस् । तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस् ।
केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जाग्रित गर्नुहोस् र संसदमा जनताको आवाज पुर्याउन आजैबाट पहल थाल्नुहोस् ।
राजनीतिक परिस्थितिका कारण यो आग्रह पार्टीको औपचारिक च्यानलमार्फत राख्न सकिनँ । अहिले इगोमा बसेर केही हुँदैन । देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु । के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस् ।
रवि दाइ आफ्नो अदालती लडाईं आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।
आशा छ, तपाईंहरूले मेरो यो आग्रहलाई सकारात्मक रूपमा लिँदै जनताको पक्षमा आवश्यक कदम चाल्नुहुनेछ ।
धन्यवाद ।
डा. मुकुल ढकाल’
