राजनीति

नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध छः पूर्वउपप्रधानमन्त्री कोइराला

११ माघ, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् ।

उनले सन् १९५५ मा दुई देशबीच कूटनीतक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्तअनुसार नै नेपाल चीनबीचको सम्बन्ध अघि बढिरहेको धारणा राखे ।

साङ्घाई इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा आजदेखि काठमाडौँस्थित नक्सालमा सुरू ‘शुभमय जिन्दगीः नववर्षे चित्रकला’ प्रदर्शनी उद्घाटनका अवसरमा उनले सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । दुई देशबीच हुने यस्ता कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिलाई थप बलियो बनाउने उनको विश्वास छ ।

आज प्रदर्शनीको पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइराला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ सिन, साङ्घाई सांस्कृतिक तथा पर्यटन ब्यूरोका निर्देशक ओउसियाओ छुआन, साङ्घाई क्रान्ति तथा इतिहास सङ्ग्रहालयका प्रमुख छउ छुन ह्वालगायतले संयुक्त रूपमा उद्घाटन गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले साङ्घाई इतिहास म्युजियमको आयोजनामा भएको प्रदर्शनी साङ्घाईको सांस्कृतिक जनजीवनको विम्ब–झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाइदिएकामा आयोजकप्रति आभार व्यक्त गरे ।

साङ्घाई इतिहास सङ्ग्रहालयका प्रमुख छउ छुन ह्वाले साङ्घाई र काठमाडौँ हजारौँ माइल टाढा भए पनि यी दुई सहरबीच गहिरो सम्बन्ध रहेको बताए । उनले प्राचीन रेशम मार्गले नेपाल र चीनलाई विगतमा एकअर्कामा परिचित हुन मद्दत गरेको धारणा राख्दै वर्तमामा संस्कृतिका साथै आर्थिक क्षेत्रहरूमा पनि नियमित आदान–प्रदानले गर्दा यी दुई सहरहरूको सम्बन्ध अझ प्रगाढ भएको विचार राखे ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, चिनियाँ कलाकार, विभिन्न क्षेत्र तथा सङ्घ–संस्थालाई प्रतिनिधिको सहभागिता थियो ।