–प्रदिप खड्का/नेपालमा होटेल तथा रेस्टुरेन्ट व्यवसाय सबै भन्दा धेरै सञ्चालन भइरहेको व्यवसायको रूपमा स्थापित भएको एक तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० सम्ममा मात्रै होटेल तथा रेस्टुरेन्टको सङ्ख्या १ लाख ४२ हजार २ सय २३ रहेको छ। तथ्याङ्क कार्यालयले गरेको सर्वेक्षणका आधारमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटेल तथा रेस्टुरेन्टको दर्ताको आधारमा उक्त सङ्ख्या सार्वजनिक गरिएको हो।
विभागले आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका होटेल तथा रेस्टुरेन्टमा काम गर्ने मजदुरहरूको सङ्ख्या १ लाख ६ हजार ४ सय ५९ रहेका छन्। गत आर्थिक वर्षमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारहरूको लागि तलब,ज्याला र सुविधामा मात्रै करिब २० अर्ब ६१ करोड ५० लाख खर्च गरेको तथ्याङ्क विभागले जनाएको छ ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायबाट राज्यले धेरै राजस्व सङ्कलन गर्ने गरेको आकलन गर्न सकिन्छ। सार्वजनिक गरेको तथ्याङ्कमा भने खुलाइएको छैन।आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको तथ्याङ्कमा देखिन्छ। आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब २ खर्व, १६ अर्ब, ७३ करोड, ८३ लाख बराबर लागत रहेको र करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।
तथ्याङ्क अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको छ। यस्ता प्रतिष्ठानमध्ये करिब २८ दशमलव ४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएर व्यवसाय सञ्चालन गरेको र बाकी ७१ दशमलव ६ प्रतिशतले भने ऋण नलिएको देखिएको छ ।
सार्वजनिक गरिएको तथ्याङ्क अध्ययन प्रतिवेदनका अनुसार सबैभन्दा धेरै होटेल तथा रेस्टुरेन्ट व्यवसाय बागमती प्रदेशमा रहेका छन्। तथ्याङ्कमा ५२ हजार १ सय २३ वटा होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको जनाएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार १ सय १० वटा रहेको छ ।
त्यस्तै, कोसी प्रदेश दोस्रोमा रहेको छ। सार्वजनिक तथ्याङ्क अध्ययन प्रतिवेदनले कोसीमा २५ हजार ८ सय ८७ वटा होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको जनाएको छ। मधेस प्रदेशमा ११ हजार ७ सय ४०, गण्डकीमा १६ हजार ९ सय ७६, लुम्बिनीमा २० हजार,१ सय ५८ र सुदूरपश्चिममा ८ हजार, २ सय २८ वटा होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन्।
सार्वजनिक गरिएको तथ्याङ्क अध्ययन प्रतिवेदनले हाल नेपालमा सञ्चालित होटेल तथा लजले एकै पटक २२ लाख ३४ हजार ८ सय ५२ जनालाई सेवा दिन सक्ने पनि उल्लेख गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा तथ्याङ्क अधिकारी डाः हेमराज रेग्मीले गत पुस महिनामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको उक्त विवरण सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल,रिसोर्ट देखी गैर–तारे होटेल, होमस्टेलगायतको तत्कालीन अवस्थालाई मध्यनजर राखेर अध्ययन गरिएको थियो ।
अध्ययन प्रतिवेदन अनुसार हालसम्म होटेलमा रहेको कोठाको सङ्ख्या १ लाख १६ हजार १ सय रहेको छ । जसमध्ये स्टार होटेलमा ८ हजार चार सय ९६, गैर–तारे होटेल तथा लजमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८ सय २९ र होमस्टेतर्फ भने ३ हजार ७ सय कोठा रहेको यो अध्ययनले देखाएको छ ।
प्रतिवेदनले जे जस्तो अवस्थालाई चित्रण गरेता पनि नेपाल साना तथा मझौला होटेल व्यवसाय भने मारमा परिरहेका छन्। राज्यले हामीलाई लगानी गर्न सहजीकरण गरेर उक्साउने तर समस्या परेको बेला वास्तै नगर्ने गैर–जिम्मेवार प्रवृत्ति देखाएको भन्दै केही व्यवसायीहरूको गुनासो रहेको छ। उनीहरूले हाम्रो लगानी नै डुब्ने अवस्था आउँदा पनि सम्बन्धित वडा कार्यालय र अनुगमन निकायले व्यवसायीहरूको कुरै नसुन्ने गरेको आरोप समेत लगाए। काठमाडौँको मध्ये बानेस्वरमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका एक व्यवसायीका अनुसार ठुलो धनराशि लगानी गरेर व्यवसाय सञ्चालन गरेता पनि भैरपरी आउने कुनै पनि समस्यामा राज्यको उपस्थिति अत्यन्तै न्यून रहेको छ।
दर्ता प्रक्रिया
होटेल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने हो भने सबैभन्दा पहिला वडाबाट स्वीकृत अनुमति लिनु पर्ने अनिवार्य कानुनी प्रावधान रहेको छ। व्यवसाय सञ्चालन हुने वडामा मात्रै नभएर अन्य सरकारी निकायमा पनि दर्ता गर्नु पर्ने देखिन्छ। दर्ता अनुमतिको लागी केही झन्झटिला प्रक्रिया भने रहेका छन्।
देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहमा पनि उद्योग व्यवसाय दर्ता गर्न सकिने व्यवस्था रहेको छ। आफूले सञ्चालन गर्न लागेको व्यवसाय स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नको लागी व्यवसायको नाम, ठेगाना, उद्देश्य र सञ्चालकको नागरिकताको प्रतिलिपि बुझाउनु पर्ने हुन्छ।
त्यस्तै घर भाडामा तथा जग्गा भाडामा लिएर सञ्चालन गर्ने हो भने घर भाडा सम्झौताको प्रतिलिपि र उक्त जग्गा तथा घरको लालपुर्जाको प्रतिलिपि समेत समावेश गर्नु पर्ने हुन्छ। त्यस्तै सम्बन्धित घर जग्गाको तिरो तिरेको कागजको प्रतिलिपि र जग्गा अथवा घर धनीको दुई प्रति फोटो समेत बुझाउनु पर्ने साथै दर्ता हुनु अघि सम्बन्धित सञ्चालकले आफ्नो व्यवसाय कुन प्रकृतिको भन्ने बारे स्पष्ट जानकारी दिनुपर्ने छ ।
त्यसै गरी व्यवसायको प्रकृति हेरेर अन्य सरकारी निकायमा पनि दर्ता अनुमति लिनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था रहेको छ। तारे होटेल देखि फुटपाथमा सञ्चालन हुने ठेला–गाडासमेत सम्बन्धित वडा कार्यालय देखि काठमाडौँको त्रिपुरेस्वरमा रहेको घरेलु तथा साना उद्योगको कार्यालयसम्म दर्ता गर्नु पर्ने हुन्छ। व्यवसाय सञ्चालकले सम्बन्धित निकायमा दर्ता गर्नुको साथै सुरु गर्न लागेको व्यवसायको नाम, ठेगाना र उद्देश्यको बारेमा स्पष्ट रहेको कागजात अनिवार्य पेस गर्नु पर्ने नियम रहेको छ।
मुख्यतया राज्यले व्यवसाय सञ्चालनको लागी दर्ता गर्ने तीन निकाय तोकिदिएको भए पनि कतिपय व्यवसाय भने वडा कार्यालयको अनुमतिले मात्रै पनि सञ्चालन भइरहेको काठमाडौँ महानगर पालीका वडा नम्बर १० का वडा सचिव सुबोद खड्काले बताए । उनका अनुसार सुविधा सम्पन्न ठुला तारे होटेल देखि चटपटे पसलसम्म वडामा दर्ता भएर मात्रै सञ्चालन गर्न पाउने छन् ।