राजनीति

पूर्व उपराष्ट्रपति पुन माओवादी केन्द्रको सक्रिय राजनीतिमा

२१ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको परिभाषित जिम्मेवारी दिने निर्णय गरेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुनलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको हो ।

पूर्व उपराष्ट्रपति पुन माओवादी केन्द्रको बैठकहरूमा यसअघिबाटै सहभागी हुन थालेका थिए । पुस अन्तिम साता चलेको केन्द्रीय कमिटी बैठकमा पनि उनी पदाधिकारीकै हैसियतमा लहरै बसेका थिए । पदाधिकारी बैठकले उनको रुचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको बताइएको छ। 

पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । २०७२ मा संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति र पुन उपराष्ट्रपति बनेका थिए।  उपराष्ट्रपति पुन सक्रिय राजनीतिमा फर्किएसँगै सक्रिय राजनीतिमा आउन चाहेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाटो खुलेको छ।