२१ माघ, लुम्बिनी । प्रदेश संरचना नै सङ्घीयताको बलियो आधार भएको सरोकारवालाले बताएका छन् । प्रदेश संरचनालाई बलियो बनाउन सङ्घीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा उनीहरुको जोड छ ।
लुम्बिनी प्रदेश आठौँ दिवस स्थापनाको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रमका वक्ताहरुले तीन तहको सरकारमध्ये प्रदेश संरचना सङ्घीयताको बलियो आधार भएकाले सङ्घीय शासन बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्थानै सङ्घीय शासन भएको बताए । उनले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको बताउँदै जनताभन्दा माथि कोही नहुने उल्लेख गरे ।
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्ने गरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको बताए । प्रदेश तहमा अझै धेरै कानुन तर्जुमाको चरणमा रहेको, सङ्घीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । सङ्घीय सरकारसँगको सहकार्य, स्थानीय तहसँगको समन्वयसहितको सह–सम्बन्धबाटै प्रदेश सरकार सञ्चालनलाई प्रभावकारी बनाउन सकिने विश्वास उनले व्यक्त गरे ।
सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह सङ्घीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले संविधानमा अधिकार तल्लो तहसम्म विकेन्द्रित हुने भनिए पनि अझै अधिकार सङ्घमा केन्द्रिकृत रहेकाले प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने धारणा राखे ।
प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बीचमा साझा प्रतिबद्धताको आवश्यकता औँल्याए ।
पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफूलाई अब्बल सावित गर्न ऐतिहासिक कामलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे ।
नेकपा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए । राजनीतिक अस्थिरता हटाउँदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनी भएको उनको भनाइ छ ।
प्रदेश स्थापना दिवसका अवसरमा विभिन्न जातजाति, समुदायका संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गरिएका थिए ।