२२ माघ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी)मा फेरि अर्को नयाँ लफडा सुरु भएको छ। लामो विवादका बिच ३२ वर्षे उमेर हद लगाएर केन्द्रीय नेतृत्व चयन गरेको यस सङ्गठनमा फेरी वरीयताको लफडा आएको हो।
९ मध्ये ६ जना ‘सिनियर’ प्रदेश अध्यक्षहरूले केन्द्रीय अध्यक्षभन्दा आफूहरूमाथि अन्याय भएको भन्दै संयुक्त पत्र मार्फत वरीयता मिलाउन माग गरेका हुन्। उनीहरूले वरीयता नमिलेसम्म कुनै पनि कार्यक्रममा सहभागी समेत नहुने चेतावनी दिएका छन् । प्रदेश अध्यक्षहरूले फ्र्याक्सन इन्चार्जलाई पत्र पठाउँदै विधानमा भएको नीतिगत त्रुटि सच्चाउन माग समेत गरेका हुन् ।
पत्रमा विधान नसच्याए पदाधिकारी बैठक, शपथग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुने र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी नगराउने चेतावनी दिएका छन् ।
अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू पश्चात् अध्यक्षमा विजय सापकोटा नेतृत्वको टोली निर्वाचित भएको थियो । केन्द्रको नेतृत्व चयन हुनुभन्दा अगाडि उमेर हद नलगाई क्याम्पस इकाई समिति, स्थानीय तहका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन सम्पन्न भएका थिए भने ३२ वर्षे उमेर हद पछि केन्द्रको नेतृत्व चयन भएको थियो।
उमेर हदबारे निर्णय स्पष्ट नभएको अवस्थामा उमेर र क्रियाशीलता दुवै आधारमा ‘सिनियर’ नेताहरू प्रदेश अध्यक्ष बनेका थिए । अहिले केन्द्रमा ‘जुनियर’ नेतृत्व आएपछि प्रदेश अध्यक्षहरूले वरीयताक्रम मिलाउन माग गरेका हुन् ।
