२२ माघ,पोखरा। नेपाली काँग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेश तथा ७७ वटै जिल्लाका सभापतिहरूलाई पोखरामा प्रशिक्षण तथा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको छ।
‘सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ नाम दिएको यस कार्यक्रम दुई दिनसम्म चल्ने छ। कार्यक्रममा जिल्ला सभापतिहरूसँगै जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका ७७ वटै जिल्लाका उपसभापतिहरू सहभागी छन् ।

‘सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले सभापतिका रूपमा सम्बोधन गरेका थिए। उद्घाटन समारोहमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यलगायत नेताहरूको उपस्थिति रहेको थियो।
यस्तै सङ्घीय सरकारका मन्त्रीहरू, पार्टीको प्रदेश कार्यसमितिका सभापतिहरू, प्रदेशका मुख्यमन्त्रीहरू, जिल्ला सभापति उपसभापति लगायत अन्य केन्द्रीय पदाधिकारीहरू पनि सहभागी थिए।
काँग्रेसले ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण प्रशिक्षण दिन आजै दिउँसोबाट बन्द सत्र सुरु गर्दै छ । बन्द सत्रमा ६ जनाले ‘प्रशिक्षण’ दिने कार्य तालिका रहेको छ।