राजनीति

सरकारको गति र मति दुवै मिलेको छैन: काँग्रेस महामन्त्री थापा

२२ माघ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति र मति दुवै नमिलेको बताएका छन् । आज पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बोल्दै उनले सरकारले आफ्नो  कामको गति र मति दुवै बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। 

सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले कतिपय विषयमा सरकारको गतिसँगै मति पनि ठिक नभएको भन्दै गति र मति दुवै ठिक बनाए परिणाम पनि ठिक आउने दाबी गरे। 

देशको ज्येष्ठ पार्टी हुनुको नाताले मति ठिक पार्ने जिम्मा काँग्रेसको हुने भन्दै  महामन्त्री थापाले भने,‘‘मति र गति ठिक बनायौँ भने परिणाम पनि ठिक आउँछ । यो गराउने जिम्मा कसको हो त?’जिम्मेवारी हाम्रो होइन, हामी देशको ज्येष्ठ पार्टी हो । ज्येष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।’

काँग्रेसले निराशा फैलाउने नभई आशा फैलाउने काम गर्नुपर्ने थापाले बताए । नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने काँग्रेसको नारा हुनुपर्नेमा उनको जोड रहेको थियो।