२४ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले निरङ्कुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको आरोप लगाएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल विधेयकको विरोध गरेका हुन्।
उनले अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको बताउँदै पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? भन्दै प्रश्न गरेको र उनले त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको र राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको बताए।
दाहालले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजेको भन्दै सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदै गरेको प्रति आपत्ति जनाए। यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ? भन्दै उनले सरकारलाई प्रश्न गरेका हुन्।