राजनीति

एमाले निकट अनेरास्ववियुका नेताले प्रहरी कुटे 

२५ माघ, काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका नेताहरूले प्रहरी माथि हातपात गरेका छन्।  राजधानीको ठमेलमा बिहीबार राति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि हातपात भएको हो ।

प्रहरीकाअनुसार हातपात गर्नेहरु प्रमुख सत्तारुढ दल एमाले निकट अनेरास्ववियुका नेताहरू रहेका छन्। प्रहरी वृत्त दरबारमार्गबाट मोटरसाइकलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्टमाथि हातपात भएको र हातपात गर्नेहरूको पहिचान भैसकेको बताइएको छ।

 हातपात गर्नेहरूमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी, रमेश फुलारा, गणेश शाही, दिनेश सिग्देल, गोपालजंग शाहीसहित ६ जना रहेका छन्। 

मोटरसाइकलमा ड्युटीमा गएका प्रहरीले मापसे गरेर होहल्ला गर्दै हिँडेका विद्यार्थी नेताहरूलाई सम्झाउन खोज्दा उल्टै आक्रमण गरेको प्रहरीले जनाएको छ । घटना ठमेलस्थित अमृत साइन्स क्याम्पस अस्कलमा भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार उक्त घटनाको सिसिटिभी फुटेज मगाएर अनुसन्धान सुरु भएको छ। आक्रमण गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।