प्रदेश 2

गाडी ‘डाइभर्सन’ गरेर जीर्ण पुल मर्मत गरिँदै

२६ माघ, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती पुलमा यातायातका साधन ‘डाइभर्सन’ गरेर मर्मत सुरु गरिएको छ । आज दिउँसो १२ बजेदेखि पुलबाट यातायात आवागमन बन्द गरेर मर्मत सुरु गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको हो ।

पुलको सर्लाहीतर्फबाट पाँचौँ नम्बर स्पानको ‘ब्यारिङ प्याडेस्टल’ फुटेपछि केही दिनदेखि जोखिममा परेको थियो । आगामी फागुन १ गतेसम्मका लागि पुलबाट आवतजावत बन्द गरेर मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालयका प्रमुख एवं इन्जिनियर अरुणकुमार लाल कर्णले जानकारी दिए । मर्मत अवधिभर पुलबाट आवागमन बन्द गरिएपछि यातायातका साधन पाँच सय मिटर तल खोलाबाट डाइभर्सन गरिने उनले बताए ।

इन्जिनियर कर्णले खोलामा बालुवा, गिट्टी बिछ्याएर, पानी भएको ठाउँमा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरिएको उल्लेख गरे । उनका अनुसार ‘ब्यारिङ प्याडेस्टल’ फुटेपछि पाँचौँ नम्बर स्पान पुलको सतहबाट पाँच इन्चभन्दा तल सरेर उत्तरपट्टि ढल्किएको छ ।

समयमा मर्मत नगरे पुलका साथै पुल भएर वारपार गर्ने सवारीसाधन जुनसुकै बेला दुर्घटनामा पर्ने जोखिम बढेकाले मर्मत सुरु गरिएको प्रमुख कर्णले बताए । “क्षति पुगेको पुलको स्पान केही तल सरेर ढल्केको छ”, उनले भने, “जोखिम कम गराउन यसलाई समयमा मर्मत गर्नुपर्ने भएकाले आजदेखि प्राविधिकसहितको जनशक्ति खटाएका छौँ ।” तीन÷चार दिनभित्रमा मर्मत काम सकेर पुनः यातायात सञ्चालन गरिने उनले बताए ।

प्रमुख कर्णका अनुसार पुलमा ‘ब्यारिङ प्याडेस्टल’ मर्मत गरेर दबिएको भागलाई उठाइने र स्पानलाई सोझो बनाइने छ । क्षतिग्रस्त बागमती पुल यसअघि सडक विभागअन्तर्गत पुल महाशाखाको टोलीले निरीक्षण गरेको थियो । महाशाखाको प्राविधिक टोलीसहित सडक डिभिजन कार्यालयका जनशक्ति पुल मर्मतका लागि परिचालन गरिएको छ ।

पुलको बीच भागमा स्पान सरेपछि सर्लाही र रौतहट दुवैतर्फका सुरक्षा निकायले केही दिनयता सवारी आवागमनलाई नियन्त्रण गरेका थिए । करिब ५५ वर्ष पुरानो उक्त पुल समयसमयमा मर्मत नहुँदा पटकपटक जीर्ण बन्ने गरेको छ । जीर्ण पुलबाट आफूहरूले जोखिम मोलेर सवारी सञ्चालन गर्नु परिरहेको यातायात व्यवसायी दीपक श्रेष्ठले गुनासो गरे ।