राजनीति

सरकारलाई बहुमत पुर्‍याउन गाह्रो छ,अध्यादेश राष्ट्रिय सभाबाट पारित हुँदैन :अध्यक्ष दाहाल 

२८ माघ, जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् । आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेसम्म जनता समाजवादी पार्टी नेपाल अध्यादेशबारे अडानमै रहेकाले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने बताएका हुन्। 

जसपा अध्यादेशबारे अहिलेसम्म अडिएको बताउँदै अध्यक्ष दाहालले भने’, मलाई जहाँसम्म लाग्छ उहाँहरू खाली सरकारको निम्ति जानुहुन्छ भन्ने मलाई लाग्दैन उहाँहरूले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ ।’

अहिले संसद्मा पेस भएका अध्यादेशहरू अघि बढ्न नसक्नु भनेको सरकारसँग दुई तिहाइ नभएको पनि पुष्टि भएको भन्दै अध्यक्ष दाहालले अघि भने, ‘अहिले अध्यादेश प्रस्तुत भएपछि रोक्नुपर्ने बाध्यता के भयो भने उनीहरूसँग दुई तिहाइ छैन भन्ने देखिंदैछ’, उनले थपे, ‘त्यसकारण बहुमत पुर्‍याउन पनि उनीहरूलाई गाह्रो भाछ, राष्ट्रिय सभामा ।’

संसद बोलाउने बेला अध्यादेश ल्याउनुले सरकार कति कमजोर छ भन्ने पनि प्रमाणित भएको दाहालको टिप्पणी थियो।