२९ माघ, काठमाडौँ । लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई घरमा बालश्रमिक राखेको अभियोगमा सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरिरहेको समाचार आइरहेको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्टाटस मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् । ६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएपछि महानगरले उद्धार गरेको थियो।
घरमा बालश्रमिक राखेकी सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहितको फायल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँहुँदै महान्यायाधिवक्ताको कार्यालयले पठाएको समाचार बाहिरिए पछि मेयर बालेनले यसबारे मुख खोलेका हुन।
मेयर बालेनले लेखेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’
नाबालिकाको अवस्था दयनीय भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो ।बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।
