बाग्मती

शंखरापुर स्कुल बस दुर्घटना : तीन जनाले गुमाए ज्यान, दर्जनौँ घाइते

३० माघ, काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी तीन जनाको ज्यान गएको पुष्टि गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान गरिएको छ। सत्य साई एकेडेमी, मैजुबाहलका विद्यार्थी पिकनिकका लागि नगरकोट गएका थिए। फर्कने क्रममा साँझ करिब ५ बजे उक्त बस दुर्घटनामा परेको हो।

तीन जना विद्यार्थीको मृत्यु भएको पुष्टि गरिएको छ भने घाइतेहरूको उपचार काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ। मृतकमध्ये एक जनाको एनएमसी अस्पताल, एक जनाको शंकरापुर अस्पताल र एक जनाको टिचिङ अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विशेष टोली खटाइएको छ।