४ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशीक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्बीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस बैंकबाट सबै सेवाग्राहीहरुलाई विश्वासनीय र सहज ढङ्गले सेवा प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन्। उनले सरकारको स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई निर्देशन गरे ।
राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा ब्याजदर कायम गरेको बताए । उनले सस्तो ब्याजदरको फाइदा उठाउँदै व्यवसायीहरुलाई कर्जा लिएर देशको आर्थिक विकासमा योगदान गर्न आव्हान गर्न गरे । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैँकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताए । साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैँकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैँक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे।