समाचार

रास्वपा सांसदले गलत प्रचारबाजी गरेको भन्दै सभामुख घिमिरेको असन्तुष्टि

६ फागुन,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतम र सुमना श्रेष्ठले बोल्न नदिएको भन्नेबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन्। हिजो बसेको प्रतिनिधिसभाको बैठकमा सदनको प्रक्रियामा अगाडि बढ्दा बोल्न नदिएको भनेर बाहिर प्रचारबाजी भएको भन्दै सभामुखले चिन्ता व्यक्त गरेका हुन्।  

सभामुखको सचिवालयले सांसद गौतम र श्रेष्ठले भने जस्तो नभएको बताएको हो। गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् तर सभामुखले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने भन्दै समय दिएका थिएनन्। 

विधेयक पारित गर्नुअघि नै सभामुखले कानुन मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न समय मागेकी थिइन् । 

हिजो फागुन ५ गतेको बैठकको सुरुवातमा सांसद श्रेष्ठले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय मागेकी थिइन्।