लुम्बिनी

बाँकेमा रैथाने बीउको संरक्षण र उपयोग सुरु

१० फागुन, बाँके । कोहलपुर नगरपालिका–२ को मुक्तिपुरमा रैथाने बीउको संरक्षण र उपयोग सुरु भएको छ ।

राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र राष्ट्रिय जिन बैङ्क खुमलटार ललितपुरले आजदेखि रैथाने कृषि परियोजना शुभारम्भ गरेसँगै यसको संरक्षण र उपयोग गर्न सुरु गरिएको हो ।

रैथाने बालीका रूपमा कोदोका सबै प्रजाति, मसुरो, भट्टमास, लट्टे, फापर, जौँका प्रजाति, कागुनो, आलुलगायत बालीको संरक्षण तथा उपयोग गरेर बीउ र उत्पादनबाट किसानले लाभ लिन सक्ने कृषि अनुसन्धान परिषद् नार्कका प्राविधिक अधिकृत डा मुकुन्द भट्टराईले जानकारी दिए ।

उनले बीउ उत्पादन भइरहेको स्थानीय हिउँदे सिमीको समेत संरक्षणमा जोड दिँदै लमजुङ र बाँकेमा रैथाने जातलाई संरक्षण गर्न खोजिएको बताए । “किसानसँग सहकार्य गरेर सामुदायिक बीउ बैङ्कको अवधारणामा काम गर्न खोजिएको छ”, उनले भने ।

नार्कका वैज्ञानिक दीपासिंह श्रेष्ठले रैथाने जातको बीउले अन्य जातको तुलनामा बढी उत्पादन दिने उल्लेख गर्दै सुख्खा ठाउँमा हुने कोदोको प्रजातिसँगै डुबानमा पनि उत्पादन हुने कोदोको जात फेला परेकोले यसको प्रवर्द्धन गर्न थालिएको बताए ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले ज्ञान केन्द्रबाट स्थानीय बालीको प्रवर्द्धन गर्ने कार्यक्रम रहेको जानकारी दिँदै स्थानीय बालीको प्रचारप्रसार गरेर त्यसलाई चिनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले बाँके र बर्दियामा स्थानीय प्रजातिलाई प्रवर्द्धन गर्न उत्पादनलाई जीन बैङ्कमा पठाउने गरिएको उल्लेख गर्दै किसानले स्थानीय रूपमा संरक्षण गरेका बालीलाई बढवा दिन ज्ञान केन्द्रले किसानसँग सहकार्य गर्ने बताए।