१२ फागुन, काठमाडौँ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको घटना छानबिन गर्न समिति गठन भएको छ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी महतको अनुसन्धानको लागी राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
सिंहको नेतृत्वका ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर, प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेको बुझिएको छ।
सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।