समाचार

इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण: प्रेम सम्बन्धमा रहेका भनिएका इन्स्पेक्टर पक्राउ

१३ फागुन, काठमाडौँ। ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जोशी र सन्तोषी प्रेमी-प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी सन्तोषी १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

पक्राउ परेका इन्स्पेक्टर २३ नं.गण तनहुँमा कार्यरत छन् । उनी १६ बेसिकका इन्स्पेक्टर हुन् ।

यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ।