समाचार

नवलपरासीमा दुई समूहबिच झडप, स्थानीयले प्रहरीको भ्यानमा आगो लगाए 

१३ फागुन,नवलपरासी। नवलपरासीमा दुई समूहबिच झडप भएको छ। नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालीका -३ स्थित बेलासपुरमा झडप भएको हो। 

उक्त झडपलाई नियन्त्रणमा लिन गएको प्रहरीको गाडी आक्रोशित स्थानीयले जलाइदिएका छन्। स्थिति नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।

आज बिहान भएको झडपमा परी स्थानीय र प्रहरी गरी १५ जना घाइते भएको बताइएको छ। हिजो केही युवाबिच सामान्य हातपात भएको विषयलाई लिएर आज स्थानीय दुई पक्ष बिच झडप  भएको हो । 

सोही गाउँका युवा युवतीले भागी विवाह गरेपछि यो विवाद उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ। केटी पक्षका केही युवाहरूले केटाका बुवालाई कुटपिट गरेपछि विवाद बढेको हो। करिब तीन महिना अगाडीको घटनालाई वडा र जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गरी पनि अहिले आएर घटनाले उग्र रूप लिएको प्रहरीको भनाइ छ। 

केटी पक्षले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेपछि विवादले झनै उग्र रूप लिएको हो। केटा र केटी पक्षले आ -आफ्नो समूह बनाएर कुटपिटमा उत्रेपछि प्रहरीले बल प्रयोग गरेको थियो। 

विवाद मिलाउनको लागी अहिले प्रमुख जिल्ला अधिकारी सहित बसेर छलफल भइरहेको  बताइएको छ।