समाचार

जेनेभा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा र संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तबिच भेटवार्ता

१४ फागुन, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरेकी छन् । 

 जेनेभामा रहेकी मन्त्री देउवाले बुधवार उच्च आयुक्तसँग भेटवार्ता गरेकी हुन् । भेटका अवसरमा परराष्ट्रमन्त्रीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रही आएको बताएकी थिइन् ।

 उनले भेटवार्ताको क्रममा नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी  गराएकी थिइन्।  नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो। 

मन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।