१४ फागुन, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शान्ति सुरक्षाको अवस्था चुस्त भएकाले अहिलेसम्म कुनै पनि घटना नघटेको जानकारी दिएका हुन्।
‘देश विदेशबाट पशुपति दर्शनका लागी आएका सम्पूर्ण भक्तजनहरूलाई सुरक्षाको पूर्ण अनुभूति दिलाएका छौँ, हालसम्म कुनै घटना घटेका छैनन्,’ सूर्य खबरसँग कुरा गर्दै एसएसपी अधिकारीले भने । उनले पशुपति क्षेत्रमा केही हो-हल्ला गर्दै उच्छृङ्खल गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएको पनि बताए। उनका अनुसार पक्राउ परेकाहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ ।
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रको सुरक्षाको लागी ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने १३ सयको हाराहारीमा सशस्त्र प्रहरी परिचालन गरिएको एसएसपी अधिकारीले जानकारी दिए। उनका अनुसार पशुपति विकास कोषले पाँच हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरेको छ।





