समाचार

नेपालमा विगतभन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको छ: उपप्रधानमन्त्री सिंह 

१५ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विगतभन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको  बताएका छन्। बिहीबार ललितपुरमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बन्नु सुखद रहेको बताएका हुन्। 

उपप्रधानमन्त्री मन्त्री सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको पनि बताएका छन् । पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्नेमा उनको जोड रहेको थियो। 

‘नयाँ शैक्षिक नीतिहरूको निर्माण,  पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवी मार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उनले भने ।

सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गरेका थिए । 

आजदेखि सुरु भएको नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९औँ अन्तर्राष्ट्रिय सम्मेलन ३ दिनसम्म चल्ने छ।