समाचार

स्ववियु निर्वाचन : सङ्घ सङ्गठन दर्ता प्रक्रिया आज दिउँसो ३ बजेसम्म

१९ फागुन, काठमाडौँ । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागी आज सङ्घ सङ्गठन दर्ता हुँदै छन्। आज देशभरका क्याम्पसहरूमा विद्यार्थी सङ्घ सङ्गठन दर्ता गर्न लागिएको हो। दर्ता प्रक्रिया आज दिउँसो ३ बजेसम्म तोकिएको छ।

त्यस्तै सार्वजनिक गरिएको तालीका अनुसार,२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तोकिएको छ। २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

तालिकामा २६ फागुनमा उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिने भनिएको छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ। सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ। निर्वाचन आगामी ५ चैतमा हुनेछ।