१९ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क दिएको छ । कुनै हालतमा पनि कुलमानलाई प्राधिकरणबाट हटाउन लागी परेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयको तर्फबाट घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएका हुन्।
घिसिङले समयमा आफ्नो कार्यसम्पादन विवरण नबुझाएको भन्दै उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादनका लागि शून्य नम्बर दिएको बताइएको छ। कार्यसम्पादन मूल्याङ्कन समितिका संयोजक ऊर्जा मन्त्रालयका सहसचिवले माघ १८ गतेको मिति राखेर शून्य नम्बर दिने निर्णय गरेको देखाइए पनि मन्त्रीकै आदेशमा भएको बुझ्न कठिन छैन।
केही दिनअघि कुलमानले भने आफूलाई ९८ अङ्क सहित मन्त्रालयमा आफ्नो कार्यसम्पादन विवरण बुझाएका थिए ।
कुलमानको कार्यसम्पादनबारे आम जनताले खुसी व्यक्त गरिरहेका बेला उनलाई हटाउनकै लागि उनको कार्यसम्पादन कमजोर देखाइएको देखिन्छ ।
तर कुलमानलाई शून्य अङ्क दिएर एकै पटक हटाउने तयारी भएको र अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस गर्ने तयारी भएको मन्त्रालय स्रोतको दाबी छ।
मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनबारे कुलमानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।