२० फागुन, काठमाडौँ । सरकारले संसदमा पेस गरेको ६ वटा अध्यादेश मध्ये ५ वटा अध्यादेश अगाडी बढाउनेमा सहमति बनेको छ । सत्ता साझेदार दलहरू भूमि सम्बन्धी अध्यादेश बाहेक अरू पाँच अध्यादेश सांसदबाट पास गर्न सहमत भएका हुन् ।
सरकारले भूमिबाहेकका अध्यादेशहरू भोली २१ गतेको बस्ने प्रतिनिधि सभा र पर्सी २२ गतेको राष्ट्रिय सभा बैठकबाट पेस गरेर पास गर्ने तयारी गरेको छ ।
सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेश मात्र सांसदबाट पास गर्न लागिएको हो ।
सरकारले ल्याएको ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । तर, भूमि अध्यादेशमा जसपाको असहमतिका कारण सबै अध्यादेश एकै पटक संसद्बाट स्वीकृत गराउने सरकारको प्रयास सफल हुन सकेको थिएन ।
अध्यादेशको आयु २७ दिन बाँकी रहेका बेला सरकार भूमि सम्बन्धी अध्यादेश रोक्न सहमत भएको हो । संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश सांसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।