समाचार

ट्रम्प प्रशासनको कडा नीति : थप १० नेपाली चार्टर विमानमार्फत फर्किंदैछन् नेपाल

२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए लगतै आधिकारिक कागजातविहीन नेपाली नागरिकहरूको निष्कासन प्रक्रिया तीव्र बनेको छ। यसै क्रममा, अमेरिकाले भोली थप १० नेपालीलाई चार्टर विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको छ।

स्रोतका अनुसार, बुधबार बिहान १० बजे काठमाडौं अवतरण गर्ने तालिका छ। अमेरिकी अध्यागमन विभागको पहलमा चार्टर गरिएको यो विमानले बिना कागजात बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन लागेको हो।

यसअघि पनि गत मंसिर ३० गते अमेरिकाले चार्टर विमानमार्फत ८ नेपालीलाई स्वदेश फिर्ता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूमाथि कडाइ गर्ने नीति लिएको थियो, जसअन्तर्गत नेपालीहरू पनि प्रभावित भइरहेका छन्।