२१ फागुन, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
आज बिहान प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई गृह मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन्।
उनले मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन प्रहरी प्रशासनलाई आग्रह गरेका हुन्।
प्रहरी प्रमुखसँग निर्वाचन सुरक्षाबारे जानकारी लिँदै मन्त्री लेखकले स्ववियु निर्वाचनलाई आम निर्वाचन जत्तिकै गम्भीर रूपमा लिएर सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।
गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिमसमेत गठन गर्न निर्देश दिएको बताएका छन् ।उनले निर्वाचन हुने जिल्लामा आवश्यक समन्वयका लागि क्याम्पस प्रशासनलाई प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसित समन्वय गर्ने वातावरण बनाइएको जानकारी दिए।