समाचार

अमेरिकाले फर्काइदिएका ८ नेपालीलाई सोधपुछका लागि प्रहरीलाई बुझाइयो

 २१ फागुन, काठमाडौँ।  आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । 

अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरूलाई अध्यागमन प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्मा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । 

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडाँै आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे । 

 यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरूलाई पठायौँ”, अधिकृत अर्यालले भने। 

 उनीहरूलाई प्रहरीले कुनै कारबाही गर्ने उद्देश्यले नभई उनीहरू नै पीडित भएको हुन सक्ने र यसरी अवैध रूपमा अमेरिका पठाउने गिरोहको बारेमा खुल्न सक्ने भएकाले सोधपुछका लागि लगिएको बताइएको छ।