समाचार

कुलमानलाई शून्य अङ्क दिनुको कारणबारे विपक्षी दलहरूले सरकारसँग मागे जवाफ 

२१ फागुन, काठमाडौँ । सरकारले प्रतिसोध साधेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क दिएकोबारे विपक्षी दलहरूले सरकारसँग जवाफ माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए ।

विपक्षी दलहरूको तर्फबाट बोलेका पाण्डेले कुलमानको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क पाएकोमा जवाफका लागि सभामुख मार्फत रुलिङको माग गरेका थिए ।

‘आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण हुँदाहुँदै अहिले सरकार जसरी लागिरहेको छ यो बारेमा के सोचिएको हो सरकारले के भनेको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । र सभामुखमार्फत सरकारले के भएको हो जान्न चाहन्छु । म रुलिङको माग गर्दछु,’ उनले भने ।

जसले राम्रो काम गरिरहेको छ उसले शून्य अङ्क किन दिइएको भनेर उनले प्रश्न गरे । ‘जसले विद्युत प्राधिकरणलाई नाफामा लगिरहेको छ । त्यसलाई शून्य अङ्क दिएको के हो ?’ उनले सोधे ।सरकारको आफ्नै मूल्याङ्कन नहेरेको तर, विद्युत् प्राधिकरणमा काम गर्नेलाई शून्य अङ्क दिएको उनले बताए ।

सार्वजनिक संस्थानहरू घाटामा गइरहेको बेला प्राधिकरणलाई घिसिङले नाफामा लगिरहेको उनले बताए । भारतमा विद्युत् निर्यात गर्ने, बङ्गलादेशमा निर्यात गर्ने सम्झौता घिसिङको पालामा भएको स्मरण गरे ।

सरकारले कुलमानलाई हटाउनको लागी पटक पटक स्पष्टीकरण सोध्ने गरिरहेको छ। उक्त कार्यको सांसदहरूले विरोध गरेका हुन्।