रोजगारी

माओवादी पदाधिकारी बैठक खुमलटारमा जारी, राजावादीको प्रदर्शन र स्ववियु निर्वाचन मुख्य एजेन्डा

२६ फागुन, काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बिहान ८ बजेदेखि बैठक बसिरहेको हो।

राजावादीको प्रदर्शन, स्ववियु निर्वाचन, सरकारका गतिविधिलगायत विषय छलफलका मुख्य एजेन्डा रहेको बताइएको छ। 

तराई-मधेस जागरण अभियान बिचमै रोकेको माओवादी केन्द्रले आज बिहानै पदाधिकारी बैठक बोलाएको हो। बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीति घटनाक्रमबारे ब्रिफिङ गरिरहेको बताइएको छ। 

आइतबार मात्र राजधानीमा राजावादीले पोखराबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै शक्ति प्रदर्शन गरेका थिए। 

फागुन १२ गते झापाको कचनकवलबाट सुरु ‘जनतासँग माओवादी, तराई-मधेस जागरण  अभियान’ शनिबार फागुन २४ गते रौतहट आइपुगेको थियो। तर राजावादीहरू सक्रिय हुन थालेको भन्दै माओवादी केन्द्रले अचानक अभियान स्थगन गरेर आन्तरिक छलफलमा जुटेको हो।  

अभियान स्थगन गर्नुअघि रौतहटमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्तामा आउने इच्छा भए पार्टी खोल्न र चुनाव लड्न पूर्वराजा शाहलाई सुझाव दिएका थिए।