समाचार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटन

२६ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटन गरेका छन्।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा होटल याक एण्ड यतिमा सम्मेलन उद्घाटन गरेका हुन्। 

श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ ।

यो सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयले जनाएको छ। 

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता छ । साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २०५४ सालमा पहिलो पटक श्रम तथा रोजगार सम्मेलन आयोजना गरेको थियो । आजबाट सुरु पाँचौँ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम मन्त्री शरतसिंह भण्डारी लगायतको सहभागिता रहेको छ।