समाचार

धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि

२६ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत बुटवल पुगेका छन् ।

रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको धरौटी खारेजी र आफूलाई साधारण तारेखमा छाड्न भन्दै निवेदन दर्ता गर्न उनी उच्च अदालतको इजलास पुगेका हुन् । 

जिल्ला अदालतले गरेको आदेश  बदर गरी पाउ भन्दै लामिछानेले दिएको निवेदन बुटवल इजलासले दर्ता गरिसकेको छ। लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

त्यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालीमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।