राजनीति

माओवादी सचिवालय बैठकको निष्कर्ष : वर्तमान सरकारको कारण राजावादीहरू सलबलाए 

२६ फागुन, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको  सचिवालय बैठकले  एमाले-काँग्रेसको नेतृत्वको वर्तमान सरकारका कारण राजावादीहरू सलबलाएको निष्कर्ष निकालेको  छ। वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू सक्रिय भएर सडकमा आएको  निष्कर्ष निकालेको हो।  ।

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल  निवास खुमलटारमा बसेको सचिवालयको बैठकको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सञ्चार-माध्यमलाई जानकारी दिए ।

‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा  राजावादीहरू आशावादी भएका हुन्,’ प्रवक्ता सापकोटाले भने । उनका अनुसार बैठकले प्रतिगामीहरू सलबलाएकाले गणतन्त्र पक्षधर दलहरू तुरुन्त एक्सनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतिमा नरमाउन सापकोटाले चेतावनी समेत दिए। 

जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेर धमिलो पानीमा माछा मार्न खोज्नेहरू सलबलाएको उनको भनाइ छ।