२६ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकालाई जरिवाना तिरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शनका क्रममा फोहोर गरेको र र्यालिङ भाँचेको भन्दै महानगरले हिजो राप्रपाको नाममा एक लाख रुपैयाँ जरिवानाको पत्र काटेको थियो।
प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवानाको एक लाख रुपैयाँ तिरेका हुन् । उनले महानगरलाई जरिवाना तीरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए।
राप्रपाले सुशासन र विधिको शासन मान्ने भन्दै सांसद शाहीले भने,’राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्विकार्छौँ।,’
उक्त प्रदर्शनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र व्यापारी दुर्गा प्रसाईँ समर्थकहरू प्रदर्शनमा सहभागी भएका थिए। यद्यपि महानगरले भने लिङ्देन नेतृत्वको राप्रपालाई मात्रै जरिवाना तोकेको थियो।