२६ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आइतबार (फागुन २५) बाट लागू हुने गरी केही स्थानमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको हो।
दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हाल जारी गरिएको निषेधाज्ञा विगतकै निरन्तरता रहेको जानकारी दिए। उनका अनुसार पुस महिनामा मै २ महिनाको लागी जारी भई म्याद सकिएपछि र त्यसैको निरन्तरतामा हिजो २५ गते बाट निषेधाज्ञा थप गरिएको हो।
राजावादीहरूको प्रदर्शनका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै निषेधाज्ञा जारी गरिएको अनुमान गरिएको छ।
जारी गरिएको निषेधाज्ञा दुई महिनाका लागि भएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने भनिएको छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

