समाचार

आज संसद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहाल, प्रधानमन्त्री ओली भने उपस्थित नहुने   

२७ फागुन, काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभालाई प्रमुख प्रतिपक्ष दलका नेता तथा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्दै छन् । हिजो बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रमुख प्रतिपक्ष दलका नेताले सम्बोधन गर्ने समय तय गरेको हो। 

तर संसदमा प्रमुख प्रतिपक्ष दलका नेताले सम्बोधन गर्ने तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन्। प्रधानमन्त्री  ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न विराटनगर जाने भएकाले प्रमुख प्रतिपक्ष दलका नेता दाहालले बोल्दा प्रतिनिधि सभामा अनुपस्थित रहने भएका हुन्। 

यसअघि गत माघ २४ गते पनि प्रमुख प्रतिपक्षी दलका नेता दाहालले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । दाहालले प्रधानमन्त्री ओली अनुपस्थित भएकोमा रोस्टमबाटै गुनासो गरेका थिए ।

उनले संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहने र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ’ भन्दै प्रधानमन्त्री प्रति दाहालले असन्तुष्टि व्यक्त गरेका थिए।